नेपाली समाज टेक्सस (एनएसटी) को साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा महासचिव सन्देश उप्रेतीले पेश गरेको प्रगति विवरण र कोषाध्यक्ष दिनेश न्यौपानेले पेश गरेको आर्थिक प्रतिवेदनलाई पारित गरिएको छ ।  साधारण सभाको पहिलो शत्रमा पूर्ब अध्यक्षद्वय डा. प्रेम अधिकारी र दिनेश शर्मा, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव सुरज भण्डारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, एनएसटीका पूर्ब महासचिव भक्त भण्डारी, एनएसटीका उपाध्यक्ष विवेक कँडेल लगायतले शूभकामना दिँदै संस्थाका गतिविधिको प्रशंसा गरेका थिए । कार्यक्रममा अध्यक्ष राजेन्द्र वाग्लेले विगत एक वर्षमा भएका कार्यहरुका बारेमा जानकारी दिँदै अमेरिकी सरकारबाट सहुलियत र सुविधा लिनका लागि आगामी दिनहरुमा संस्थाका गतिविधीहरु केन्द्रित रहने बताए । 

साधारण सभामा कोषाध्यक्ष न्यौपानेले अघिल्लो कार्यसमितिले एकलाख ४० हजार ५ सय ३५ डलर ६३ सेन्ट हस्तान्तरण भएकोमा हाल एकलाख ९५ हजार ९ सय ६९ डलर ७९ सेन्ट रहेको उल्लेख गरे । संस्थाले घाटा नहुनेगरि कार्यक्रम गर्ने र आउँदो वर्षसम्म गतिविधि गरेर कम्तिमा तीनलाख डलर जम्मा गर्ने लक्ष्य लिएको बताए । साधारण सभाले संस्थाको सदस्यता शुल्क वृद्धि गर्ने प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ । विद्यार्थी, साधारण र आजीवन सदस्यता क्रमशः १५, २५ र एकसय ५० डलर बनाइएको छ । संस्थामा अहिले चारहजारको हाराहारीमा सदस्य छन् । 

Source: Himalaya Khabar